काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी कर्णाली (नेकपा) प्रदेशका संसदीय दलका नेता महेन्द्रबहादुर शाही माथि अघि सारिएको अविश्वासको प्रस्तावका विषयमा नेकपाका अध्यक्षद्वय छलफलमा जुटेका छन् ।
अध्यक्षद्वयबीच पार्टी एकता, रिक्त रहेका संवैधानिक नियुक्ती, मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा निरन्तर छलफल हुने गरेपनि आजको भेटमा थप नयाँ विषयले प्रवेश गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
सांसद एवम् नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यमलाल कँडेलको नेतृत्वमा आइतवार १८ जना सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।
पूर्व माओवादी एवम् नेकपाका प्रचण्ड निकट मानिएका शाहीलाई पूर्व एमाले एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव कुमार नेपाल खेमाका र केही पूर्व माओवादी खेमाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । कतिपयले केन्द्रमा पार्टी एकताको २९ महिना बितिसक्दा समेत भागबण्डा नमिल्दा पार्टीभित्र लफडा लम्बिरहेको बेला केन्द्रीय विवादको ध्यान भंग गर्नका लागि रचियको प्रपञ्चको रुपमा समेत यसलाई हेरेका छन् ।
सांसदहरुले मुख्यमन्त्री शाहीले उचित तबरले काम गर्न नसकेको कारण अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया