कोरोना संक्रमित महिलाको मृत्यु

सप्तरी । यहाँ आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुर्ख्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताए।

पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो । यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ ।

रुपनी बन्द

रुपनी गाउँपालिकाका तीन कर्मचारी र एक वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा आज कोरोना संक्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको छ । रुपनी– ४ का सदस्य, सोही वडाका कार्यालय सहायक, गाउँपालिकाका कम्प्युटर सहायक र कार्यालय सहायकमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए।

यही असोज २१ ४ नं वडाध्यक्षमा कोरोना पुष्टि भएको थियो । राजविराजस्थित प्रयोगशालामा आज गरिएको परीक्षणमा वडाध्यक्षका छोरा र छोरीमा समेत संक्रमण देखिएको छ ।
गाउँपालिका अध्यक्ष यादवका अनुसार गत बिहीबार मृत्यु भएका आठराई गाउँपालिका, तेह्रथुममा कार्यरत सबओभरसियर रुपनी–१ का ३७ वर्षीय पुरुषका श्रीमती, साला र भिनाजुमा समेत आज कोरोना संक्रमण देखिएको छ ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका अन्य कर्मचारी र जनप्रतिनिधिमा समेत कोरोनाको जोखिम बढेकाले सबै कर्मचारीको पिसिआर परीक्षण गराउनुपर्ने उनले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?