डा. केसी र सरकारबीचको वार्तामा सहमती जनाउँदै कांग्रेसले भन्यो- ‘खबरदारी जरुर गर्नेछौँ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डा गोविन्द केसी र सरकारबीचको सहमतीलाई स्वागत गरेको छ । डा केसीले उठाएका मागहरुबारे स्वदेश तथा विदेशबाट एक्येवद्धता जनाउने सबैमा बधाई दिँदै मागहरु कार्यान्वयन गराउनको लागि भने खबरदारी गरिरहेको कांग्रेसले जनाएको छ ।

डा केसीले २८ औँ अनसन तोडे पश्चात् एक विज्ञप्ती जारी गर्दै सूचना, संचार तथा प्रचार विभागका संयोजक एवम् प्रवक्ता विश्वप्रकाश शर्माले त्यस्तो बताएका हुन् ।

सहमतिलाई स्वागत । ‘साउनमा सहमति माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिन खबरदारी जरुरी । आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा। गोविन्द के।सी। र संघीय सरकार बीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ । स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाई ज्ञापन गर्दछ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै लामो समयदेखि अनसन बस्दै आएका डा केसीको मागप्रति सरकारको रबैया पूर्वाग्रही रहेको पनि कांग्रेसले जनाएको छ । पछिल्लो पटक जुम्लाबाट अनसन शुरु गरेका डा केसीलाई काठमाडौं ल्याइएको थियो । डा केसीले त्रिवि शिक्षण अस्पतालमा बस्ने भनेपनि उनलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा राखिएको थियो । डा केसीको स्वास्थ्य जटिल भएपश्चात दुवै पक्षबीच वार्ता टोली गठन गरी मागबारे छलफल शुरु गरिएको थियो । तर शनिवार राति अबेर मात्र डा केसी र सरकारी पक्षबीच भएको ८ बुँदे सहमत पश्चात डा केसीले आइतवार बिहान अनसन तोडे। सरकारले वार्ता नै नगर्ने हठ देखाएपनि चौतर्फी दवावले बार्ता गरिएको कांग्रेले जनाएको छ । साथै यसअघि भएका सहमतीहरु कार्यान्वयन नभएको भन्दै कांग्रेसले खबरदारी जारी राख्ने समेत बताएको छ ।

डा. के.सी ले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहार देखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउंदै सहमतिमा पुगेको छ । सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं ।” कांग्रेसले भनेको छ ।

वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा केसीसँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको कांग्रेसले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?