वालिङ । स्याङ्जाको वालिङ–१४ तमादीको पहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ ।
यही असोज ८ गते तमादीस्थित माया नेपालीको घरभन्दा माथिबाट आएको पहिरोमा पुरिएर एकै घरका नौ जनाले ज्यान गुमाएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आज तमादी गएर पहिरोमा परी ज्यान गुमाउने नौ जनाका परिवारलाई राहतस्वरुप चार लाख पचास हजार रुपैयाँ उपलब्ध गराएका हुन् ।
सो अवसरमा उनले गण्डकी प्रदेश सरकारले प्राकृतिक विपद्मा परेर ज्यान गुमाउनेलाई जनही पचास हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउँदै आएको बताउँदै सोही अनुरुप पहिरोमा परी ज्यान गुमाउने नौ जनाको परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराएको जानकारी दिए । “पहिरोमा पुरिएर घरसहित एकै परिवारका नौ जनाको ज्यान गएको छ” उनले भने, “घरबारबिहीन भएका परिवारलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।”
गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले अविरल वर्षाका कारण स्याङ्जामा धेरै जनधनको क्षति भएको बताउँदै विपद्मा परेकाको व्यवस्थापनका लागि तीनवटै तहका सरकारबीच आवश्यक सहयोग र समन्वय हुनुपर्ने बताए ।
वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले पहिरोले घरबास गुमाएका परिवारलाई सुरक्षित स्थानान्तरणका लागि स्थानीय सरकार लागिपरेको बताउँदै तमादीका स्थानीयवासीलाई सुरक्षित स्थानमा जग्गा खोजी गरी उपलब्ध गराउन आग्रह गरेका छौं, जग्गा उपलब्ध हुनासाथ घर निर्माण कार्य थाल्ने छौं भने । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया