टीकापुर । लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा पाएपछि टीकापुर–४ का महिला खुशी भएका छन् । टीकापुर–४ अस्नेहरीमा भएको लामो अवधिको जन्मान्तरका लागि स्याटेलाइट क्लिनिकमा इम्प्लान्ट सेवा लिएकी सीमा कार्कीले अब पाँच वर्षका लागि ढुक्क भएको बताए ।
कार्कीले भने, “इम्प्लान्ट सेवा लिन टीकापुर अस्पताल जानुपर्थ्यो, स्वास्थ्यकर्मी गाउँमै आए, म जस्तै धेरै महिलालाई सजिलो भयो ।” टीकापुर–४ कै सुनिता चौधरीले एउटा बच्चा हुँदा गत वर्ष जन्मान्तरका लागि केही साधन प्रयोग गरौँ भनी श्रीमान्सँग सल्लाह गरिन् तर उनका श्रीमान्ले वास्ता गरेनन् । सुनिताका हाल दुई बच्चा छन् । पहिलो बच्चा ढाइ वर्षको छ भने अर्को बच्चा चार महिना पुगिसक्यो । सुनितालाई दोस्रो बच्चा जन्मेदेखि जन्मान्तरका लागि केही गर्न पाएँ हुने भएको थियो ।
“म फेरि गर्भ रहन सक्छ भनी चिन्तामा थिए । यस्तो महामारीको समयमा अस्पताल जानसमेत सकेकी थिइन”, सुनिताले भनिन्, “गाउँमै सेवा पाए अब पाँच वर्ष ढुक्क भयो ।” सुनिता स्थानीय सरकारले महिलाका यस्तै खाले समस्या बुझ्न आवश्यक रहेको बताउँछिन्।
शुक्रवार भएको स्याटेलाइट क्लिनिकमा वडा नं ४ का ३० महिलाले इम्प्लान्ट सेवा लिएका छन् । इम्प्लान्ट राखेमा पाँच वर्ष जन्मान्तरका लागि ढुक्क हुन्छ । लामो समयसम्म अपनाइने परिवार नियोजनका साधन प्रयोग गर्न चाहनेका लागि स्याटेलाइट क्लिनिक गरिएको सिनियर अनमी हेमा ज्ञवालीले बताए । उनले वडास्तरमा मागअनुसार अन्य वडामा पनि सञ्चालन हुँदै आएको बताए ।
“हामीले स्वयं सेविकामार्फत् महिलालाई कस्तो खालका सेवा आवश्यक छन् भनी बुझ्छौँ”, ज्ञवालीले भने, “नगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर गाउँमै गएर सेवा दिने योजना बनाएको छ । ” ज्ञवालीले परिवार नियोजनमा अस्थायी साधन प्रयोग गर्नेमा ७० प्रतिशत महिला रहेको बताए । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको आयोजनामा भएको कार्यक्रममा धनसिंहपुर स्वास्थ्यचौकीकी अनमी कमला शर्मा र अस्नेहरी शहरी स्वास्थ केन्द्रकी मेलिना केसीले सेवा दिएका थिए ।
संक्रमितलाई हाइजेनिक किड्स वितरण
कैलालीको टीकापुरमा आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितलाई टीकापुर नगरपालिकाले हाइजेनिक किड्स वितरण गरेको छ । नगरपालिकाले टीकापुरको सिटीहल र टीकापुर अस्पतालमा रहेको कोरोना संक्रमितलाई हाइजेनिक किड्स वितरण गरेको हो । निड्स नेपाल कञ्चनपुरको सहयोगमा ४६ जनालाई किड्स वितरण गरिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।
यस्तै नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सहयोगमा १५ जनालाई हर्लिक्स पनि वितरण गरिएको छ । आइसोलेसनमा रहेका महिला र बालबालिका गरी १५ जनालाई आधा किलोको दरमा हर्लिक्स वितरण गरिएको हो । टीकापुर नगरपालिकाका संक्रमितको संख्या २०२ पुगेको छ । ५५ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने टीकापुरमा सक्रीय संक्रमितको संख्या ४७ रहेको छ । संक्रमितमा पनि २८ जना अस्पतालको आइसोलेशनमा र १९ जना सेल्फ आइसोलेसनमा बसेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया