श्रीमानको कुटाइबाट घाइते श्रीमतीको मृत्यु

खोटाङ । श्रीमानको कुटाइबाट गम्भीर घाइते बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ ।

घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बनेकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो ।

आफ्नै घरमा श्रीमानको कुटाइ खाएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढल्नुभएको स्थानीय बासिन्दाले बताएका छन् । छिमेकीकामा पुगेर ढल्नासाथ बेहोस भएकी उनलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौं लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए ।

गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यभएपछि उनको शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको जनाइएको छ । घटनाका बारेमा टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।

आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । फरार डम्बरबहादुरको खोजी कार्यका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले बताए ।

श्रीमान÷श्रीमतीबीच बिहान करीब ५ः०० बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नाका साथै लोहोरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पती यसअघि पनि मादक पदार्थ सेवन गरेर झगडा गरिरहने गरेको छिमेकीले बताएका छन् ।

दुई युवक पक्राउ

एक किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । गएराति करीब १०ः०० बजेको समयमा दिक्तेल बजारस्थित रत्नपार्कमा अन्दाजी १५÷१६ वर्षकी किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राई पक्राउ परेका हुन् ।

आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै किशोरीले सामुदायिक प्रहरी सेवा केन्द्रमा दिएको उजुरीका आधारमा दुवै जनालाई गएराति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चिमरियाले जानकारी दिए । पक्राउ परेका दुवै जनाविरुद्ध आज यौन दुव्र्यवहारसम्बन्धी मुद्धा दर्ता गरेर कारवाही शुरु गरिएको जनाइएको छ ।

बन्दुकसहित एक पक्राउ

आफ्नै घरमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा खोटाङका एक युवक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनीका ३० वर्षीय मेघराज राईलाई आज दुई थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने खजनासहित प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

अवैध रुपमा घरमा बन्दुक राखेको भन्ने स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नायब उपरीक्षक चिमोरीयाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?