‘पूर्वाधारका नयाँ क्षेत्रमा दक्ष जनशक्तिको अभाव’

बाह्रबिसे । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सरकारले भौतिक पूर्वाधारका नयाँ–नयाँ क्षेत्रलाई अगाडि बढाइएको भएपनि त्यसमा आवश्यक कतिपय प्राविधिक जनशक्ति स्वदेशमा उपलब्ध नभएको बताएका छन् । गैरआवासीय नेपाली सङ्घले आज आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा उहाँले गैरआवासीय नेपालीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नयाँ नेपाल निर्माणमा लगाउन आग्रह गरे ।

अहिले भौतिक पूर्वाधारको क्षेत्रमा रेल, सुरुङमार्ग र मेट्रोरेल थपिने क्रममा रहेको उनले बताए । मन्त्री नेम्वाङले भने, “हामीले रेल चलाउनका लागि पनि नेपाली दक्ष नभएकाले विदेशी ल्याउनुपर्ने अवस्था छ ।” उनले नेपाल अहिले कम विकसित देशको सूचीमा भएपनि भौतिक पूर्वाधार निर्माणमा लगानी सुनिश्चित गरी मध्यम आय भएको मुलुकको रुपमा स्थापित हुने लक्ष्य लिइएको बताए ।

सन् २०२२ सम्ममा कम विकसित मुलुकको सूचीबाट माथि उठाउने, सन् २०३० सम्ममा दिगो विकासको लक्ष्यहरु हासिल गर्ने र सन् २०३० सम्ममा नेपाल मध्यम आय भएको देशको रुपमा विकास गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । सरकार व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न शहर विकास गर्न लागेको बताउँदै मन्त्री नेम्वाङले २७ नयाँ शहर, १५ स्मार्ट सिटी, पाँच हिमाली शहर र २० ओटा शहरमा सघन सहरी विकास कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो । उनले भने, “अन्य शहरलाई थप व्यवस्थित गर्न ‘एक शहर एक पहिचान’को कार्यक्रम समेत अगाडि बढाइएको छ ।”

सो अवसरमा पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दिपकबाबु कँडेलले परम्परागत संरचनाहरुको संरक्षणको आवश्यकता औँल्याए । कतिपय संरचना अहिले हटेकाले पनि प्राकृतिक विपद् बढेको उनको भनाइ छ । कार्यक्रममा छ जना विज्ञहरुले भौतिक पूर्वाधार विकासको विभिन्न क्षेत्रसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

रेल विभागका अधिकारीसँग छलफल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको प्रगति र आगामी दिनको योजनाबारे रेल विभागसँग छलफल गरेका छन् । विभागको निरीक्षणका लागि आज विशालनगरस्थित कार्यालय पुगेका मन्त्री नेम्वाङले विभागको कामकारवाहीका बारेमा जानकारी लिए ।

विभागको महानिर्देशकका रुपमा प्रमिलादेवी बज्राचार्यले जिम्मेवारी सम्हाल्नुभएको एक सातापछि उहाँ आज विभाग पुगेर कर्मचारीसँग छलफल गरे । उनले पूर्व—पश्चिम विद्युतीय रेलमार्गको काकँडभिट्टा–इनरुवा खण्ड, इनरुवा–बर्दिवास खण्ड र बर्दिवास–निजगड खण्डको ट्रयाकबेडबारे जानकारी लिए । महानिर्देशक बज्राचार्यले विभागले गरिरहेको कामको जानकारी दिए ।

रेल विभागका अधिकारीहरुले मन्त्री नेम्वाङलाई मेट्रो रेलसम्बन्धी विषयमा पनि जानकारी गराएका थिए । उनीसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत मन्त्रालयका अधिकारी विभाग पुगेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?