आशु कविता लेखनमा कैलालीका अधिकारी पहिलो

काठमाडौं । विद्यालय तहको कक्षा १० सम्मका विद्यार्थीका बीचमा कार्यक्रममै कविता लेखी वाचन गर्ने आशु कविता प्रतियोजिता जुम प्रविधिबाट सम्पन्न भएको छ ।

अभिनव साहित्य समाजले आज आयोजना गरेको आशु कविता लेखन कार्यक्रममा कैलाली धनगढीस्थित दून एकेडेमीका विभूति अधिकारी पहिलो भएका छन् । प्रतियोगितामा रिपुमर्दिनी सैनिक आवासीय माध्यमिक विद्यालय, भक्तपुर सल्लाघारीका इन्दिरा थापाले दोस्रो र युनिभर्सल मावि धूम्रबाराहीका सदिष्मा अधिकारीले तेस्रो स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा सहभागीमध्ये १० जनालाई सान्त्वना दिइने समाजले जनाएको छ । विगत वर्षमा दुई जनालाई मात्र सान्त्वना दिने गरिएकामा यस वर्ष इष्टपोल इन्टरनेशनल कलेजको प्रायोजनमा आठ जनालाई थप पुरस्कार दिन लागिएको समाजका अध्यक्ष गोविन्दप्रसाद वेदमणिले जानकारी दिए ।

सान्त्वना पाउनेमा भारतको कालिम्पोङबाट जुम प्रविधिका माध्यमबाट जोडिएका कुमुद यादव, टाइमलाइन जोरपाटीका प्रसुन बराल, जिएस निकेतन हेटौँडाका समर्पण न्यौपाने, रिम्स इन्टरनेशनल स्कूल जोरपाटीकी युरिका खाती, अरुणिमा मावि वौद्धका सौगात उप्रेती, जिएस निकेतन हेटौँडाकी उषा अधिकारी, पृथ्वीनारायण मावि गोलढुङ्गाकी दीक्षा पौडेल, मनकामना मावि दक्षिणढोकाका प्रज्ज्वल ढुङ्गाना, एकता जेम्स मावि जोरपाटीकी आयुषा राई र सरस्वती मावि जोरपाटीकी अनुषा घिमिरे छन् ।

विजयी छात्रछात्रालाई आख्यानकार रमेश विकलको जन्मजयन्तीको अवसर पारेर आगामी लक्ष्मीपूजाका दिन पुरस्कार र प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।

कार्यक्रममा पहिलालाई पाँच हजार, दोस्रालाई तीन हजार, तेस्रालाई एक हजार र सान्त्वना सबैलाई ५०० सहित पुस्तक र प्रमाणपत्र प्रदान गरिने छ । विकलको जन्मजयन्तीका अवसरमा विसं २०७१ देखि समाजले प्रत्येक वर्ष आशु कविता लेखन एवं वाचन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले प्रतिष्ठान परिसरमा निर्मित आख्यानकार विकलको पूर्णकदको शालिक पनि लक्ष्मीपूजाकै दिन अनावरण गरिने जानकारी दिए। बालसाहित्यमा विज्ञान, अन्तरिक्ष, भूगोललगायत विधाका समेत पुस्तक आइरहेकाले बालबालिकामा पढ्ने बानीको विकास गर्न नेपाली शिक्षकको भूमिका महत्वपूर्ण हुने उनले बताए।

सो अवसरमा साहित्यकार प्रा डा कपिल लामिछाने, निर्णायकमण्डलका सदस्य रमेश शुभेच्छु, मन्दिरा मधुश्री र परशुराम पराजुली, इष्टपोल इन्टरनेशनल कलेजका प्राचार्य राजेश राईलगायतले भर्चुअल माध्यममा उपस्थित भई तत्काल कविता लेखेर वाचन गर्ने कला विद्यार्थीमा विकास गर्न कोरोना महामारीले भूमिका खेलेको बताए ।

धेरै बालबालिकाले कोरोनाका कारण विद्यालयमा गई अध्ययन गर्न नपाएको, भर्चुअल माध्यमबाट नै पठनपाठन अघि बढाउन बाध्य हुनुपरेकोलगायत समसामयिक समस्यालाई कवितामा उतारेका थिए । आजको प्रतियोगितामा ३० विद्यालयका ४५ विद्यार्थीले तत्काल कविता लेखी वाचन गरेका थिए । जुम प्रविधिमा उपस्थित भएर कविता लेखन एवं वाचनमा बालबालिकाको रुचि बढेको समाजले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?