गोपाल पराजुलीमाथि भ्रष्टाचार मुद्दा लाग्ने

काठमाडौँ, २ चैत – निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफू न्यायपरिषद्बाट पदमुक्त भएपछि साँझसम्म पनि त्यसलाई चुनौती दिँदै बिहीबारको पेसी आफैंले तोक्ने दाबी गरिरहेका थिए, तर जब बिहानै सर्वाेच्च प्रशासनले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई पेसी तोक्न सघायो र सर्वाेच्चको वेबसाइटमा पराजुलीको फोटो हटायो, तब दिउँसो उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिए ।पराजुली बिदामा बस्नसमेत नमानेकाले सर्वाेच्चका न्यायाधीशै विवादित भएको परिदृश्यमा पदबाट हटाइएपछि एकाएक उनले किन राजीनामा दिए जबकि त्यसको जरुरतै थिएन ।कानुनविद्हरू भन्छन्– ‘आफूमाथि लाग्न सक्ने सम्भावित मुद्दाबाट जोगिन ।’स्रोतका अनुसार केही पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता, पूर्वमहान्यायाधिवक्ता तथा केही पूर्वसांसदले ‘पराजुलीलाई के गर्दा सबभन्दा उपयुक्त हुन्छ’ भन्ने सल्लाह सुझाएपछि सोहीअनुसार प्रधानमन्त्री केपी ओलीले त्यसैअनुसार अघि बढ्न संकेत गर्दै अटेर गरे महाअभियोग लाग्न सक्ने जनाउ दिएका थिए । महाअभियोगबाट गुज्रिए संविधानको प्रावधानअनुसार सीधै भ्रष्टाचार मुद्दामा पनि तानिन सक्ने भएकाले त्यसबाट पनि जोगिने झिनो प्रयासमा उनले हठात् राजीनामा गरेका हुन् । ‘तर पनि कानुनत: उहाँलाई भ्रष्टाचार मुद्दा सीधै लाग्छ,’ अधिवक्ता लेखनाथ भट्टराईले भने, ‘यो अवस्थामा अब भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ अनुसार उहाँ सजायको भागीदार देखिनुहुन्छ ।’यही डरले पराजुलीले आफूले गर्नै नचाहेको राजीनामा गरेको हुन सक्ने उल्लेख गर्दै भट्टराईले थपे, ‘र यसको कुनै अर्थ छैन किनभने सर्वाेच्चमा एकै दिन दुई प्रधानन्यायाधीश भएको अर्थ लाग्ने हुँदा राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत हुने ठाउँ छैन । उहाँ बुधबारै पदमुक्त भइसक्नुभएको छ । अर्काे कुरा राजीनामै गरेको भए पनि भ्रष्टाचार मुद्दाबाट उहाँ बच्ने ठाउँ छैन ।’आफूले पाउनेभन्दा ७ महिना ९ दिन बढी पदमा बस्नु नै पराजुलीबाट भ्रष्टाचार भएको पुष्टि भइसकेकाले अख्तियारलाई मुद्दा चलाउन कुनै बाधा नभएको कानुन व्यवसायीहरूको ठम्याइ छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?