जापानले अर्को नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

टोकियो । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो ।

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इण्डोनेशिया, चीन, अष्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् ।

सरकारले अत्यावश्यक काम परेका र आउनै पर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका १५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

जापान आउनुअघि यात्रुहरुले कोरोनाभाइरस परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनु पर्नेछ ।

त्यसैगरी उनीहरुलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नु पर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । यो नियमहरुको कार्यान्वयनको जिम्मेवारी आगन्तुकलाई “स्पोन्सर” गर्ने व्यक्ति वा कम्पनीले लिनु पर्ने शर्त पनि राखिएको छ ।

शुरुमा दैनिक एक हजार जना विदेशीलाई मात्रै आउन दिने जापान सरकारको योजना छ । यो संख्या विस्तारै वृद्धि गरिदै लैजाने अधिकारीहरुले जनाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?