दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

जीवन खत्री । साउल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । दक्षिण कोरियाको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ ।

सन २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो भने सन २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ । त्यसैगरी सन २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ ।

यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन् । सन् २०१९ मा मात्र पाँच जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५.६ मिलियन वोन छ भने ५०० भन्दा धेरै कामदार भएका ठूला कम्पनीबाट तिर्न बाँकी रहेको ज्याला ६० बिलियन पुगेको छ ।

पछिल्लो समय कामदारको ज्याला रोकिनुमा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा आएको मन्दी मुख्य कारण रहेको तथ्याङ्कमा उल्लेख छ । यसरी कामदारले ज्याला नपाएका घटना धेरै बढिरहेको बताउँदै कानूनविद्हरूले आर्थिक सङ्कट झेलिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरी कामदारले पाउनुपर्ने ज्याला नरोक्न सुझाव दिएका छन् । यहाँको रिपब्लिक जनशक्ति पार्टीका नेता किम सुङ–वानले कामदारको ज्याला समयमा भुक्तानी नगर्ने रोजगारदातालाई जरिवानासमेत तिराउनुपर्ने सुझाव दिएका छन् ।

यो तथ्याङ्क बाहिरए पनि झण्डै ५० हजार बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीहरू हालसम्म बेतलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घटना देखिएको छैन । तथापि यसको प्रभाव पर्ने हो कि भन्ने चिन्ता त्यहाँ काम गरिरहेका नेपालीलाई छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?