मेरा आफन्त र सहयोगीले कोरोनाविरुद्धको भ्याक्सीन लगाईसके : भ्लादिमिर पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना आफन्त र नजिकका सहयोगीहरुले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेको बताएका छन् ।

‘मेरा नजिकका साथीभाई, मेरा आफन्त र मसँग निकट रहेर काम गरिरहेकाहरुले भ्याक्सिन लगाएका छन् । म दर्जनौं व्यक्तिहरुको कुरा गरिरहेको छु – झन्डै ५० जनाजत्तिको,’ युक्रेनी राजनीतिक भिक्टोर मेडभेदचुकसँगको बैठकमा पुटिनले यस्तो बताएको रुसी सरकारी एजेन्सी तासले जनाएको छ ।

‘रुसी रक्षा मन्त्रालयको झन्डै सिंगो कमाण्ड र अन्य विशेष सेवामा आबद्धहरुले पनि भ्याक्सिन लगाइसकेका छन्,’ पुटिनले भने ।

यता, मेडभेदचुकले पनि आफू, आफ्नी श्रीमती र छोराले समेत रुसी भ्याक्सिन लगाएको बताएका थिए ।

यसअघि पुटिनले भ्याक्सिन लगाउने आफ्नो इच्छा सार्वजनिक गरेका थिए ।
११ अगस्टमा कोभिड १९ विरुद्धको भ्याक्सिन स्पुतनिक ५ लाई रुसले तेस्रो चरणको परीक्षण अगावै स्विकृति दिएको थियो । पश्चिमा विज्ञहरुले भ्याक्सिनले सबैखाले मापदण्ड पूरा गरेको पुष्टि नभएसम्म यसको प्रयोग नगर्न चेतावनी दिइरहेका छन् ।

अहिले यस भ्याक्सिनको तेस्रो चरणको ट्रायल भइरहेको छ । रुसबाहेक भेनेजुयला, फिलिपिन्स, भारतलगायत देशमा पनि यसको परीक्षण हुँदैछ । यता, बुधबार रुसमा ११ हजार १ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यहाँ कुल संक्रमित संख्या १२ लाख ४८ हजार ६ सय १९ जना पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?