दमौली । तनहुँको व्यास नगरपालिकाले आवधिक योजना निर्माण गर्ने भएको छ । कार्यपालिकाको आजको बैठकले आगामी तीन वर्षका लागि आवधिक योजना निर्माण गर्ने निर्णय गरेको हो ।
आवधिक योजना तीन महिनाभित्र निर्माण सम्पन्न गरिने नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। बैठकमा नगरपालिकाको तीन वर्षको कार्य प्रगति समीक्षा गरिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक खरीद योजना र नदीजन्य ढुङ्गा, बालुवासम्बन्धी आइइ प्रतिवेदन स्वीकृत गरेको छ । बैठकले व्यास नगरपालिका टोल विकास संस्था कार्यविधि २०७७, व्यास नगरपालिका स्लेट ढुङ्गा उत्खनन एवं कटिङ उद्योग सञ्चालन कार्यविधि २०७७, व्यास नगरपालिका करार कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ संशोधन तथा पारित गरेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार विपद्बाट नोक्सान पुगेको यातायात, खानेपानी, सिंचाइलगायत बाँकी पुनःस्थापनालाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । शुक्लागण्डकीमा चालु आवका योजना निर्माण शुरु शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षका योजना निर्माण शुरु गरेको छ । कोभिड–१९ को प्रभावका कारण विकास आयोजना प्रभावित भएको बेला नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८मा सञ्चालन गर्ने योजना निर्माण शुरु गरेको हो ।
सोहीबमोजिम शुक्लागण्डकी–१२ ले चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनामध्ये ८० प्रतिशत योजना दशैंँ अगाडि नै सम्पन्न गर्ने तयारी गरेको छ । अधिकांश योजनाको लागत अनुमान भइसकेको र अन्य योजना मूल्याङ्कनका क्रममा रहेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।
वडाध्यक्ष गुरुङका अनुसार प्युरीदोभानबाट लामा गाउँ जाने मोटरमार्गको ट्रयाक खन्ने काम पनि शुरु भएको छ । २० लाखको लागतमा पाँच किलोमिटर ट्रयाक खोल्न शुरु गरिएको छ ।
त्यसैगरी जसपुर मोटरमार्गमा पनि ट्रयाक खोल्न शुरु गरिएको छ । चार किमी ट्रयाक खोल्नका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ ।
वडा कार्यालयले फिरफिरे प्रवेश गर्ने मुख्य बाटामा प्रवेशद्वार निर्माण शुरु गर्न लागेको छ । प्रवेशद्वार निर्माणका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । फिरफिरे रातमाटा गाउँलाई बाख्राको मुख्य गाउँ बनाउने उद्देश्यसहित कृषक बाख्रा खोर निर्माण गर्न जुटेका छन् ।
खानेपानी आयोजनाको डिपिआर
अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेटको सहयोगमा व्यास नगरपालिका–५ चुँदेरमा खानेपानी योजना निर्माण हुने भएको छ । वर्षौंदेखि खोलाको पानी उपयोग गर्दै आएका स्थानीयवासीलाई स्वच्छ पानी व्यवस्था गर्नका लागि क्लबको सहयोगमा पंँधेरीखोला खानेपानी तथा सरसफाइ योजना निर्माण गर्न लागिएको हो ।
रोटरी क्लब अफ दमौलीको सक्रियतामा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । दमौलीस्थित स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार गरेको डिपिआर बुधवार व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कन्सल्टेन्सीका इञ्जिनीयर सुवास गौतमले नगर प्रमुख न्यौपानेलाई उक्त डिपिआर हस्तान्तरण गरे । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया