डाँडापारि जोड्ने पक्की सडक बन्ने

बनेपा । काभ्रेपलाञ्चोकको विकट डाँडापारी क्षेत्रको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्न पक्की मोटरबाटो निर्माण हुने भएको छ । यसअघि कच्ची मोटरबाटोका लागि ट्रयाक खोलिएकामा प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामसम्म कालोपत्र गर्न लागिएको हो ।

वाग्मती प्रदेश सरकारले ४९ करोड बजेट विनियोजन गरेकाले जिल्ला सदरमुकामदेखि पहिलो खण्डअन्तर्गत उक्त गाउँपालिकाको केन्द्र देवीटार जोड्ने (वडा नं ५ को खोलाघारी–घ्याब्रिङ–देवीटार) ८.७ किमी बाटोको शिलान्यास मङ्गलबार उक्त प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले गरेका थिए ।

उनले जिल्ला सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने पक्की सडक निर्माणका लागि ठेक्का आह्वान भइसकेको र समयमै काम सम्पन्न गर्न आवश्यक सबै प्रबन्ध गरिने प्रतिबद्धता व्यक्त गरे।

जिल्ला सदरकमुकामदेखि उक्त गाउँपालिकासम्म जोड्न रोशी गाउँपालिकाको पिन्थली–रजबास–चारकिल्ला–तीनखुट्टे–खोलाघारी–घ्याब्रिङ–देवीटार–गोकुले र कटुञ्जे चौकीडाँडा–सिपाली–बुढाखानी–महादेवटार–तीनखुट्टे–खोलाघारी–घ्याब्रिङ–देवीटार–गोकुले गरी दुई ठाउँबाट कच्ची मोटरबाटो सञ्चालन भइसकेको छ ।

पक्की सडक निर्माणका लागि श्रेष्ठ÷साक्ष्मक जेभिले २५ करोड ८२ लाखको लागतमा आगामी २०७९ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?