काठमाडौं । भारत सरकारको सहयोगमा कैलाली जिल्लाको टीकापुर मा निर्माण गरिएको श्री सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।
३ करोड ३० लाख नेपाली रुपैयाँमा निर्माण गरिएको उक्त नवनिर्मित भवनको आज काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा सहितको उक्त दुई तले विद्यालय भवनको निर्माण गरिएको हो ।
भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) को रुपमा अघि सारिएको दूतावासले जनाएको छ ।
भारत सरकारले नेपालको सुदुर पश्चिममा २३ र कैलालीमा ६ वटा गरी ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । धनगढी स्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरुका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी गराइएको छ ।
नवनिर्मित श्री सरस्वती माध्यमिक विद्यालय सन् १९७८ मा कैलालीको टीकापुरमा स्थापना भएको हो । विद्यालयमा ५५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् ।
यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ । यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया