सुर्खेत बसपार्कमा यात्रु सहायता कक्ष

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुर्खेत बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने उद्देश्यले आजदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सहायता कक्ष दशैँ–तिहार लक्षित सञ्चालन हुनेछ ।

यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रुको सुरक्षाका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरी दुवै उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए । “चाडपर्वमा यात्रुहरु हतारमा हुने हुँदा दुर्घटनारहित यात्रा गराउन सबै चनाखो हुनुपर्छ”, उनले भने, “भीडभाडको मौका छोपी बसपार्कमा हुने लुटपाटका घटनालाई निरुत्साहन गर्नु त छदैछ, सडक सुरक्षालाई पनि विशेष ख्याल गर्नुपर्छ ।” पहाडी भेगमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना निम्तिने गरेको बताउँदै उनले पैसाभन्दा यात्रुको जीवनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदयसिंह सिजापतिले यात्रामा कुनै समस्या आइपरेमा सहायता कक्षमा खबर गर्न आग्रह गरे । सहायता कक्षमा चौबिसै घण्टा प्रहरी हुने हुँदा बसपार्कमा शान्ति सुरक्षाका साथै सुरक्षित यात्राको सहजीरकणमा मद्दत पुग्ने उनको भनाइ छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?