सुदूरपश्चिममा थप ११९ जना कोराना संक्रमित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज ११९ जना कोभिड—१९ का संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटी जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका समेत प्रदेशमा हालसम्म कूल सात हजार ७८० जना संक्रमित पुगेका छन् ।

मन्त्रालयको तथ्याङ्कका अनुसार सक्रिय सङ्क्रमित बिरामी आज एक हजार ७४ जना छन् । असोज महिना लागेसँगै प्रदेशमा संक्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो बीस दिनमा थप छ जनाको मृत्यु भएपछि आजसम्म यो रोगबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । पछिल्ला दिनमा कोभिड—१९ का सक्रिय संक्रमितको दर पनि बढ्दै गएको देखिएको छ ।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई खासगरी बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले शहरी क्षेत्रमा सर्वसाधारणको भीड बढ्नुका साथै होमआइसोलेशनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले संक्रमण पनि बढ्दै गएको बताए ।

कोभिड—१९को संक्रमणका कारण हालसम्म प्रदेशको कैलाली जिल्लाका नौ जना, अछाम, बझाङ र बाजुराका दुई—दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक—एक जनाको सङ्क्रमितको मृत्यु भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षकसहित आज २२ जना प्रहरीमा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । योसँगै कार्यालयका ४६ जना प्रहरी संक्रमित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले जानकारी दिए । ‘‘संक्रमित सबै प्रहरी आइसोलेसनमा हुनुहुन्छ, बिष्टले भने, ‘‘प्रहरी उपरीक्षक भने आफैँ निवासको होमआइसोलेसनमा हुनुहुन्छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?