काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । बुधवार एकले एक विज्ञप्ति जारी गर्दै संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
जसअनुसार बिहीवार बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय भएको संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै धर्ना दिने कार्यक्रम पनि तय भएको बताइएको छ ।
त्यस्तै देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थान र संघका शाखा कार्यालयहरुमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा बताइएको छ ।
संघले शुक्रवार १ दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ । शुक्रवारसम्म सरकारले वार्ता टोली बनाई सत्याग्रहको अन्त्य नगरिएको अवस्थामा संघबाट थप कडा विरोधका कार्यक्रमहरु सार्वजनिक गरिने रिजालले विज्ञप्तीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया