भैँसीपालनमा युवाको आकर्षण

दमौली । देशभित्रै प्रशस्त अवसर हुँदाहुँदै पनि रोजगारीको सिलसिलामा धेरै युवा विदेशिएका छन् । तर केही त्यस्ता युवा पनि छन्, जो देशभित्रै बसेर कृषि र पशुपालनमा रमाइरहेका छन् ।

त्यस्तै मध्येका एक हुन् तनहुँको व्यास नगरपालिका–५ फुस्रेटारका रवीन्द्र श्रेष्ठ । माध्यमिक तहको पढाइ सकेर श्रेष्ठले भैँसीपालन व्यवसाय शुरु गरेका हुन्। विदेशमा गर्ने श्रम देशभित्रै गर्न सके मनग्य आम्दानी हुने सोचका साथ श्रेष्ठले मामा भान्जा भैँसी फार्म दर्ता गरेर भैँसीपालन शुरु गरेका छन् ।

पाँच रोपनी जग्गा खरिद गरेर शुरु भएको भैँसीपालन व्यवसायमा करिब रु २२ लाख लगानी भएको उहाँले जानकारी दिए। उनको भैँसी फार्ममा हाल १३ भैँसी र नौ पाडापाडी छन् । भैँसीको दानाका लागि श्रेष्ठले घाँसखेतीसमेत गर्नुभएको छ । बिहानदेखि नै श्रेष्ठ भैँसीको स्याहारसुसारमा खटिने गरेका छन् । “केही समय वैदेशिक रोजगारीमा पनि गएँ, तर विदेशमा सन्तुष्टि मिलेन,” उनले भने, “अहिले आफ्नै देशमा व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ ।”

दैनिक ४५ लिटर दूध विक्री गर्दै आउनुभएको श्रेष्ठले व्यवसायमा थप लगानी गरेर भैँसीफार्मलाई विस्तार गर्ने योजना बनाउनुएको छ । “व्यवसायिक रुपमा नै भैँसीपालनलाई लैजानका लागि थप लगानी गर्दैछु,” उनले भने, “भैँसीपालनलाई नै मुख्य परिचय बनाउने उद्देश्य हो ।” दूध विक्रीबाट सम्पूर्ण खर्च र बैंकको किस्ता तिरेर मासिक रु ३० हजार आम्दानी हुने उनले जानकारी दिए ।

भैँसीपालनमा नै रमाउनुभएका अर्का युवा छन् व्यास नगरपालिका–१४ का मोहन आले । सोही वडाको निर्वाचित वडा सदस्यसमेत रहेका आलेले तीन रोपनी क्षेत्रफलमा भैँसीपालन गरिरहेका छन् । उनको भैँसीफार्ममा ११ भैँसी रहेका छन् । दैनिक ७५ लिटर दूध विक्री गरेर मासिक ५० हजार आम्दानी हुने गरेको उनको भनाइ छ । उनले भैँसीपालनका लागि १८ लाख लगानी गरेका छन् । “राजनीति सँगसँगै पशुपालन व्यवसायलाई समेत अगाडि बढाएको छु”, उहाँले भन्नुभयो, “राजनीतिले मात्रै जीवन गुजारा हुँदैन, आम्दानीको स्रोतका लागि व्यवसाय गरेको हूँ ।”

भैँसीपालनसँगै बङ्गुरपाल गर्नुभएका उहाँले काम गर्न लाज मान्न नहुने बताए । “जनप्रतिनिधि भएर पनि कहाँ भैँसी पालेको भन्छन्, तर मलाई काम गर्न लाज लाग्दैन,” उनले भने, “जनप्रतिनिधि त केही समयका लागि मात्रै हो, यही व्यवसायलाई निरन्तरता दिन्छु ।” भैँसीपालनबाट आत्मसन्तुष्टि मिलेको बताउँदै उनले व्यवसायमा थप लगानी गर्ने योजना रहेको बताए ।

विदेश जानुभन्दा पनि स्वदेशमै बसेर व्यवसाय गर्नुपर्ने सुझाव दिँदै उनले भने, “विदेशमा गएर अरुको दास बन्नुभन्दा स्वदेशमै मालिक बन्नुपर्छ ।” दूध विक्रीका लागि बजारको कुनै अभाव नरहेको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?