काठमाडौंमा मात्रै कोरोनाबाट ११५ जनाको मृत्यु, किन बढ्दैछ नसोचेको हिसाबले संक्रमण?

काठमाडौं – काठमाडौंमा मात्रै कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट हालसम्म ११५ जनाको मृत्यु भएको छ ।

मंगलबारसम्मको तथ्याङ्कअनुसार काठमाडौँबाहेक भक्तपुमा २४ र ललितपुरमा ३२ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा हाल ११ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या १४ हजार ६३५ पुगेको छ । हालसम्म कुल संक्रमितको संख्या २६ हजार ६ पुगेको छ।

यसैगरी ललितपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६३९ रहेको छ भने निको हुनेको संख्या १६८१ रहेको छ । हालसम्म ललितपुरमा कोरोना संक्रमितको संख्या ३३५२ रहेको छ ।

भक्तपुरमा पनि सक्रिय संक्रमितको संख्या १ हजार ९४ पुगेको छ भने निको हुनेको संख्या १५ सय ९१ पुगेको छ ।
भक्तपुरमा कोरोना संक्रमितको संख्या २७०९ रहेको छ ।

एक हप्तामै काठमाडौंमा ९ हजार बढी थपिए : 
पछिल्लो एक हप्तामा मात्रै काठमाडौं उपत्यकामा ९ हजार ४४१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। काठमाडौंमा चारदिन देखि लगातार १ हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । एक हप्तामा काठमाडौंमा मात्रै ७ हजार ५७६ जनामा संक्रमण देखिएको छ। ललितपुरमा १ हजार १२० जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ७४५ जनामा संक्रमण देखिएको छ।

कोरोना परीक्षण अब एन्टिजेन किटबाट गरिने  : 
नेपालमा छिट्टै एन्टिजीन किटबाट कोरोना भाइरस कोभिड १९ परीक्षण सुरु गर्रिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ठूलो समूहमा एकैपटक परीक्षण गर्न मिल्नेगरी यो सेवा सुरु गर्न लागिएको हो । कोरोना भाइरस परीक्षणसम्बन्धी नेसनल टेष्टिङ गाइडलाइनमा परिमार्जन गरी एन्टिजेन परीक्षण थप गरिएको छ। यो विधिअनुसार गरिएको परीक्षणको रिपोर्ट तुरुन्त आउने र एकैपटक धेरै संख्यामा परीक्षण गर्न उपयुक्त मानिन्छ।
अस्पतालमा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्थामा, सामूहिक बसाइ भएका ठाउँमा यसको परीक्षण गरिन्छ। यो परिक्षणको लागि रिएजेन्ट अमेरिकन फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनबाट मान्यताप्राप्त उत्पादनलाई मात्र मान्यता दिने मन्त्रालयले जनाएको छ।

किन बढे तीव्र गतिमा कोरोना संक्रमित :
कोरोना भाइरस ‘कोभिड – १९’ को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रेसँगै संक्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरु उपत्यका प्रवेश गरेसँगै संक्रमणको जोखिम बढेको बताए ।

उनले भेटिएका संक्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताए ।

काठमाडौं उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको संक्रमण बढेको पाइएको स्वास्थ्य मन्त्रालयको भनाई छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएले सङ्क्रमण बढेको जनाइएको छ ।

बाहिर निस्कँदा मास्क लगाउने, दुई मिटरको दूरी कायम राख्ने र पटकपटक साबुनपानीले हात धुने वा सेनिटाईजर प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

किन उपत्यकामा सोचेभन्दा चारगुणा बढी संक्रमण फैलिरहेको छ भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम भन्छन्, “खुला सीमा भएका कारण मानिस सीधै काठमाडौँ आए । आएका मानिस पनि १४ दिनसम्म क्वारेन्टिनमा नबस्दा सङ्क्रमण बढेको हो”, उनले भने, “हामीले बाहिरबाट आइसकेका मानिसलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न भनेका थियौं । त्यो पनि पालना गरिएन । आज सङ्क्रमण बढ्यो भनेर चिन्ता गर्नुभन्दा सङ्क्रमण नबढ्न के गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?