डा. केसीको अवस्था गम्भिर बन्दै, प्रधानमन्त्रीको जवाफ – ‘वार्ताको लागि सचिव पठाएको छु’

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक हिजो (मंगलबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

अघिल्लो बैठकमा निर्धारीत केही एजेण्डामा छलफल गर्नको लागि दोस्रोपटक सरेर बसेको बैठकमा चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको विषयमा केहि छलफल पक्कै हुन्छ भन्ने आम नागरिकलाई अपेक्षा थियो । स्वभाविक पनि हो, – डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ ।

यसैबीच पटक पटक सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग तत्काल वार्ता प्रक्रिया अघि बढाउन सचिवालय सदस्यले सरकारलाई आग्रह गरेका थिए । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा सचिवालयका सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले तत्काल वार्ताको पहल गर्न आग्रह गरेपछि प्रधानमन्त्रीले जवाफ फर्काए “सचिवलाई पठाएको छु । ”

सरकारले डा. केसीसँग तत्काल वार्ता गरेर समस्याको समाधान गरोस् भनेर चिकित्सक, आम नागरिक, समाजिक अभियन्ता, बुद्धिजीवि अनुरोध गरिरहेका छन् । यही जानकारी राख्दै सचिवालय सदस्यले गरेको अनुरोधमा प्रधानमन्त्री ओलीले सरकारले वार्ताको प्रयास जारी राखेको भन्दै कतिपय मागहरु पूरा भइसकेको बताए ।

उनले भने, “केही मागहरु पूरा भइसकेका छन् । अहिले अनसन अन्त्य गर्नुपर्यो भनेका छौँ, त्यसपछि पनि मागहरु पूरा गर्न सकिन्छ ।”

पार्टी प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले डाकेसीका कतिपय विषयहरु कार्यान्वयनको प्रक्रियामा रहेकाले अहिले अनसन बस्नु उपयुक्त समय नभएको बताएका थिए ।

उनले कोरोनाको कहरले अप्ठेरो परिस्थिती सिर्जना भइरहेको यो सन्दर्भमा अनसन अन्त्य गर्न डाक्टर केसीलाई आग्रह गरे ।

कस्तो छ, डाक्टर केसीको अवस्था :
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेको बुधबार २४ दिन पुगेको छ।

दिन बढ्दै जाँदा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई श्वास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको छ ।

छाती दुख्ने समस्या आउन थालेपछि डा. केसीलाई अक्सिजनको सपोर्टमा राख्नुपरेको उनका सहयोगीले बताए ।

डा. केसीले अन्य औषधि लिन मानेका छैनन् ।

उनले नियमित रुपमा खाइरहेको मुटुको औषधि पनि केही दिनदेखि खान छोडेको बताइएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बसिरहेका डा केसी गत भदौ २९ गतेबाट जुम्लाबाट अनसन शुरु गरेका थिए ।

उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई काठमाडौं ल्याइएको थियो । डा. केसीले आफू काठमाडौं आएपनि माग पुरा नभएसम्म सत्याग्रह नतोड्ने घोषणा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?