प्राज्ञिक क्षमतामा पक्षपात गर्दिन : उपकुलपति अर्याल

गण्डकी । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा।डा। प्रेमनारायण अर्यालले प्राज्ञिक क्षमता माथि पक्षपात नगरी अघि बढ्ने बताएका छन् ।

प्रजातान्त्रिक प्राध्यापक संघ पोखरा विश्वविद्यालयद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उनले विश्वविद्यालयमा चुनौती र सम्भावना दुबै देखेको बताउँदै चुनौतीको सामना गर्दै सम्भावनालाई यथार्थमा परिणत गर्न पूर्व पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैबाट रचनात्मक सहयोगको अपेक्षा राखेको उल्लेख गरे ।

आफ्नो जीवनको अनुभव पोखरा विश्वविद्यालयको उन्नयनमा खन्याउन आँफू आतुर रहेको बताउँदै उनले विश्वविद्यालयको दीर्घकालीन र अल्पकालीन नीति बनाएर अघि बढ्ने जानकारी दिए ।

विश्वविद्यालयका अधुरा काम सम्पन्न गर्दै यसको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र सो जिम्मेवारी पुरा गर्न दृढ सङ्कल्पित भएको उनले बताए । एक्लो व्यक्तिले केही गर्न नसक्ने हुनाले सबैको सहयोग प्राप्त गर्ने अपेक्षा व्यक्त गर्दै उपकुलपति अर्यालले आगामी चार वर्ष पोखरा विश्वविद्यालय बाहेक अन्य कतै आफ्नो ध्यान नलगाउने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन डा. हरिबहादुर खड्काले लामो समय पदाधिकारी रिक्त भएकाले विश्वविद्यालय ठूलो समस्यामा फस्दै गएकाले ती समस्या समाधान गर्न सबैले दोब्बर समय दिएर काम गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा। विष्णुराज तिवारीले विश्वविद्यालयमा देखिएका समस्यालाई प्राज्ञिक हिसाबले समाधानका लागि अघि बढ्न उपकुलपति अर्याललाई सल्लाह दिए । कार्यक्रममा विश्वविद्यालयका कार्यकारी परिषद्का प्रा. डा. अजय थापा, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति सञ्जीव थापा लगायतले विश्वविद्यालयमा विद्यमान समस्याको समाधानका लागि उपकुलपतिलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?