कोभिड-१९ संक्रमित खुल्दै

काठमाडौं । गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोभिड–१९ को संक्रमण देखियो । मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आफूहरुलाई संक्रमण भएको सामाजिक सञ्जालबाटै जानकारी गराए ।

मुख्य सल्लाहकार रिमालले संक्रमण देखिएपछि शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो पिसिआर परीक्षण गराउँदा कोभिड–१९ पोजिटिभ देखियो । यसैबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।” यस्तै प्रेस सल्लाहकार थापाले पनि गत शनिवार नै “हिजोको पिसिआर परीक्षणको क्रममा ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु,” भनेर लेखेका छन् ।

यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले पनि यही असोज १७ गते शनिवार आफू संक्रमित भएको जानकारी सामाजिक सञ्जालबाट गराए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको बताए । उनले आफ्नो सम्पर्कमा रहेका सबैले सजगता अपनाउनु हुनसमेत अनुरोध गरे । पहिले संक्रमितले न आफूले संक्रमण भएको जानकारी गराउथे, न सरकारले नै । अहिले यसरी कोभिड–१९ को संक्रमितहरु आफैँ खुल्न थालेका छन् । विशेषगरी सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिँदै आएका छन् । यस सूचीमा थुप्रै राजनीतिक दलका नेता, कलाकार, चिकित्सकलगायत अन्य व्यक्तिहरु छन् ।

उनीहरु जस्ता समाजका जिम्मेवार व्यक्तिले आफू सङ्क्रमित भएको जानकारी गराउँदै संक्रमणबाट बच्न सबैलाई अनुरोधसमेत गर्नुभएको छ । सरकारले संक्रमितको बारेमा जानकारी नगराए पनि संक्रमित आफैँ खुल्न थालेका हुन् । अहिले संक्रमित भएको अवस्थामा नै उनीहरुले कोभिड–१९ बाट बच्नका लागि उच्च सर्तकता राख्नसमेत अनुरोध गर्दै सामाजिक सञ्जालमा भिडियो बनाउने गरेका छन् । नेपालको पहिलो सङ्क्रमित को हो भनेर अझै सरकारले खुलाएको छैन ।

चीनको वुहान शहरबाट नेपाल आएका ती व्यक्ति को हुन् कहिले संक्रमण भएको र कहिले निको भएको हो भन्ने सरकारले अझै औपचारिक रुपमा जानकारी गराएको छैन । ती व्यक्तिलाई माघ १० गते संक्रमण भएको मात्र मन्त्रालयले अनौपचारिक रुपमा जानकारी गराएको छ । अहिले संक्रमण फैलिन थालेपछि संक्रमितहरु भने आफैँ संक्रमण भएको जानकारी गराउँदै आएका छन् । अहिले नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयले कोभिड–१९ बाट संक्रमित, निको र निधन हुनेको जानकारी गराउँदै आएका छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सङ्क्रमित भएको रिर्पोट सिधँ सम्बन्धित व्यक्तिलाई दिने भनेको छ । पहिले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र रिर्पोट दिने गर्दथ्यो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्क्रमित व्यक्तिले अरुलाई पनि संक्रमण नहोस् भनेर जानकारी गराउन पनि संक्रमित खुल्ने गरेको बताउँछन् । उपत्यकामा पनि घरबेटीले चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत सर्वसाधारण संक्रमितलाई बस्न नदिएको कुरा सार्वजनिक भएको थियो । मन्त्रालयले पटकपटक संक्रमितलाई घरबाट ननिकाल्न घरबेटीलाई आग्रह गर्दै आइरहेको छ ।

मनोचिकित्सक डा अरुणा उप्रेतीले कोभिड–१९ को त्रास कम हुँदै जानु र विस्तारै सचेतना फैलिँदै गएपछि सङ्क्रमित खुल्न थालेको बताउँछन् । उनले अहिले शिक्षित, बुद्धिजीवी संक्रमणबारे खुल्न थालेको बताए । “पहिले पनि क्षयरोग, कुष्टरोग, एचआइभी एड्सजस्ता रोगलाई लुकाउने गरेको थियो । औषधि बनेपछि ती रोगका बिरामी आफैँ खुल्न थालेका थिए” उनले भने, “शुरु शुरुमा कोभिड–१९ लागेको मानिसलाई संक्रमण देखिएपछि घरपरिवार र समुदायका मानिस सबैलाई सर्छ भन्ने थियो । अहिले त्यस्तो देखिएन । कोभिड–१९ केही होइन भन्ने मानिसमा सचेतना भयो । त्यही भएर खुल्न थालेका छन् ।”

कोभिड–१९ बाट संक्रमित पत्रकार मात्रिका पौडेलले सार्वजनिक ठाउँ समारोहमा जाने व्यक्तिमा सङ्क्रमित भयो भनेर जानकारी गराउँदा सम्पर्कमा आएमा मानिसले सतर्कता अपनाउने बताउँछन् । उनलाई गत बिहीवार संक्रमण भएको थियो । उनले आफू पहिल्यैदेखि नै जनतासँग प्रत्यक्ष भेटघाट गर्ने व्यक्ति संक्रमित भएको खण्डमा सबैलाई जानकारी गराउनु भन्दै आएको बताए । “हामी धेरै मानिससँग सम्पर्कमा गएका हुन्छौँ,” उनले भने, “हामीले को कोलाई भेटेको भन्ने थाहा हुँदैन । त्यही भएर सार्वजनिक व्यक्तिले संक्रमण भएको जानकारी गराउँदा अरुले सजकता अपनाउँछन् ।”

मनोचिकित्सक डा उप्रेतीले अहिले पनि गाउँघरमा संक्रमित खुल्न नसकेको बताउँछन् । उनले समाजमा सङ्क्रमितलाई भेदभावको रुपमा हेर्ने जस्ता क्रियाकलाप हुँदै आएको जानकारी दिए । नेपालमा आजसम्म ९० हजार ८१४ संक्रमित, ६७ हजार ५४२ निको र ५६३ निधन भइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बिरामीको अनुमति बिना बिरामीको बारेमा जानकारी गराउन नमिल्ने बताए । उनले अहिले कोभिड–१९ को संक्रमण सबैलाई लाग्ने भएकोले शिक्षित व्यक्तिले आफू संक्रमित भएको जानकारी गराएर सूसूचित गरिरहेको बताए । “यो रोग लुकाए झनै समस्या हुन्छ । आफू सङ्क्रमित भएको जानकारी गराउँदा रोकथाम र नियन्त्रणमा सहयोग पुग्दछ” उनले भने, “त्यसैले सबैले संक्रमण लुकाउनुभन्दा सबैलाई जानकारी गराउनु राम्रो हुन्छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?