कोरोनाले लियो ३१ वर्षीय युवकको ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण तेह्रथुमका एक ३१ वर्षीय युवकको ज्यान गएको छ ।

मंगलवार नेपालमा थप ९ जनाको मृत्यु भएको हो ।

जसमध्ये ५ जना काठमाडौं उपत्यकाका मात्र रहेका छन् । काठमाडौं उपत्यकामा काठमााडौंका २ जना महिला र ललितपुरका एक महिला र २ जना पुरुष रहेका छन् ।

त्यस्तै अन्यमा तेह्रथुमका एक पुरुष, सुनसरीका एक पुरुष, नवलपरासी पूर्वकी एक महिला, चितवनका एक पुरुष रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।

पछिल्लो एक हप्तामा मात्रै काठमाडौं उपत्यकामा ९ हजार ४४१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। काठमाडौंमा चारदिन देखि लगातार १ हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । एक हप्तामा काठमाडौंमा मात्रै ७ हजार ५७६ जनामा संक्रमण देखिएको छ। ललितपुरमा १ हजार १२० जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ७४५ जनामा संक्रमण देखिएको छ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ३४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । यो कुल संक्रमितको ७४.३ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २२ हजार ७०९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १३ हजार ५९१ जना र संस्थागत आईसोलेसनमा ९ हजार ११८ जना छन् । तिमध्ये २४३ जना संक्रमितको आईसियु र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २२१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, रुकुम पूर्व, सोलुखुम्बु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो ।

हिजो (सोमवार) नेपालमा २ हजार ४४० जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १३३ जना संक्रमणमुक्त भएका थिए भने १९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?