नेपालमा एकै पटक थप २ हजार ३ सय ४० जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ३ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६७ हजार ५ सय ४२ जना रहेका छन् । कुल संक्रमित मध्ये ७४.३ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।

पछिल्लो एक हप्तामा मात्रै काठमाडौं उपत्यकामा ९ हजार ४४१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। काठमाडौंमा चारदिन देखि लगातार १ हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । एक हप्तामा काठमाडौंमा मात्रै ७ हजार ५७६ जनामा संक्रमण देखिएको छ। ललितपुरमा १ हजार १२० जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ७४५ जनामा संक्रमण देखिएको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २२ हजार ७०९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १३ हजार ५९१ जना र संस्थागत आईसोलेसनमा ९ हजार ११८ जना छन् । तिमध्ये २४३ जना संक्रमितको आईसियु र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २२१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, रुकुम पूर्व, सोलुखुम्बु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो ।

हिजो (सोमवार) नेपालमा २ हजार ४४० जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १३३ जना संक्रमणमुक्त भएका थिए भने १९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?