सडक विस्तार तीव्र

बनेपा । कोरोना कहरकै बीचमा लाकुरी भञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ । विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ ।

विस्तारित सडक र्‍यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जाडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्जेवेंशीमा जोडिने छ ।

र्‍याले–कुशादेवी–पनौती–दाहालटार खण्डमा लुम्बीनी/खानी ब्राइट जेभीले ३८ करोड ८३ लाख १० हजार २३२ रुपैयाँमा सम्पन्न गर्ने जनाइएको छ । यसका लागि विसं २०७६ भदौमा सम्झौता गरी आगामी विसं २०७७ फागुन भित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको छ । ललितपुर जिल्लाको ग्वार्को हुँदै काभ्रेपलाञ्चोक जिल्लाको चौकीडाँडामा पुगेर बिपी राजमार्गसँग सो सडक जोडिने जनाइएको छ ।

बन्दाबन्दीकै बीचमा भइरहेको कामको अवस्थाबारे बुझ्न शनिबार वाग्मती प्रदेशका नीति तथा योजना आयोग र राष्ट्रिय योजना आयोगका संयुक्त टोलीले अनुगमन समेत गरेको छ । सो अवसरमा अयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले काठमाडौंबाट बाहिरीने र उपत्यका भित्रिने महत्वपूर्ण मार्गको रुपमा लिएको बताए । उनले भने, “प्रदेश र संघीय सरकारले आफ्ना आयोजनाहरुलाई छिटो सम्पन्न गर्ने कुरामा तीव्र गतिमा आयोजनाको अनुगमन गरिरहेका छौँ ।”

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले सो सडक बहुआयमिक र रणनीतिक महत्व भएको रहेको बताए । बन्दाबन्दीकै बीचमा भौतिक कामको प्रगति राम्रो भएको पाइएको उनको भनाइ छ ।

पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले सडक विस्तार आयोजना बन्दाबन्दीको समयमा काम भइरहेको बताए ।

अहिले सो सडक ग्वार्को–लाकुरीभञ्ज्याङ– र्‍याले र र्‍याले–कुशादेवी–पनौती–दाहालटार सडक विस्तार गर्ने तथा दाहालटार–चौकीडाँडा ट्रयाक खोल्ने गरी तीन खण्डमा ठेक्का सम्झौता भएको छ । यसअन्तर्गत र्‍यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तोरन्नति भइरहेको छ । सो सडक सञ्चालनमा आएपछि पनौती, धुलिखेल र नमोबुद्ध नगरपालिकाका साथै रोशी गाउँपालिकाकाका १, २, ३, ४, ५ र ७ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?