‘तीन वर्षमा फुसको छाना विस्थापन हुने’

काठमाडौं । शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले अबको तीन वर्षमा देशबाटै फुसको छाना विस्थापन गरिने बताएका छन् । विश्व बसोबास दिवस २०२० का अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले स्थानीय सरकारसँगको सहकार्यमा सो कार्यक्रम अघि बढाइने जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षमा एक लाख ५० हजार घरमा सो कार्यक्रममार्फत फुसको छाना विस्थापन गर्ने लक्ष्य लिएको छ ।

सरकारले काठमाडौं उपत्यकामा चार ‘स्मार्ट सिटी’ स्थापनालाई महत्वका साथ अघि बढाइरहेको उहाँले बताए । उनका अनुसार मन्त्रालयले शहरी विकाससँग सम्बन्धित कानून पनि अघि बढाइरहेको छ ।

संविधानले नै आवासको हकलाई मौलिक हकमा राखेको छ ।
सो अवसरमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले नेपालका अधिकांस नगरपालिकामा खानेपानीको समस्या रहेको बताउँदै सङ्घीय र स्थानीय सरकारले संयुक्त रुपमा शहरी विकास कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “ अब हामीले पार्कलगायतका संरचना पनि बनाउनुपर्छ ।”

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले आवास, शहरी विकास र भवन निर्माण व्यवस्थित शहरको महत्वपूर्ण तत्व भएको औँल्याए। यस वर्ष दिवसको नारा ‘सबैका लागि आवासः समृद्ध शहरी विकास’ रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?