विदेशमा रोजगारी गुमाउने श्रमिकको संख्या बढ्दो

विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकमध्ये तीन महिनामा ८० हजार नेपाली स्वदेश फर्किएका छन् । यो संख्या नेपाल फर्किएका ९१ हजार नेपालीमध्ये मुख्य ७ श्रम गन्तव्यबाट फर्किएकाको मात्र हो । करार सम्झौता तथा भिसाको म्याद समाप्त भएका, अवैधानिक, र कोभिड १९ का कारण रोजगारी गुमाएका ८० हजार श्रमिक स्वदेश फकिएका हुन् ।

कोरोना महामारीका कारण श्रम गन्तव्यबाट रोजगारी गुमाई नेपाल फर्किनसक्ने ४ लाखमध्ये आइतबारसम्म सो संख्याका नेपाली फर्किएको कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ । सरकारले खाडीका ६ देश र मलेसियामा रहेका १३ लाख ४८ हजार मध्ये ४ लाख ७ हजार फर्कने अनुमान गरेको थियो । व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सुचारु भएपछि फर्कनेको संख्या हाल केही बढेको छ ।

विदेशस्थित नेपाली नियोगबाट प्राप्त सूचनाका आधारमा मलेसियाबाट ३७ हजार, कतारबाट १ लाख ४५ हजार, साउदी अरबबाट १ लाख २० हजार, यूएईबाट ६७ हजार फर्कने छन् । तर, ति देशबाट हालसम्म ५५ हजार मात्र फर्किएको देखिन्छ । विश्व बैंकले विद्यमान संकटका कारण विश्वभर १५ प्रतिशत बेरोजगार हुने अनुमान गरेको भए पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने औषत २५ प्रतिशतको रोजगार गुम्ने अनुमान छ । यद्यपि हालसम्म रोजगारी गुमाउने नेपाली श्रमिकको संख्या भने अनुमानितमात्र हो ।

रोजगार विज्ञ डा गणेश गुरुङ वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीहरू अदक्ष रहेका कारण उनीहरूकै रोजगारी धेरै गुम्ने बताउँछन् । कारोबार दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?