काठमाडौं, १ चैत । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ ।न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी गरेका छन् ।जोशीले सर्वोच्च अदालत पुगेर न्यायाधीशहरूलाई मुद्दाको पेसी तोक्ने बताएका हुन् । ‘पेसी तोक्न सर्वोच्च प्रशासनका ‘स्टाफ’ बाट म कहाँ सूची आइपुगेको छ’, जोशीले भने, ‘अदालतमा गएर पेसी तोक्ने काम हुन्छ ।’प्रधानन्यायाधीश पराजुलीले भने आफ्नाविरुद्ध सुनियोजित षड्यन्त्रको डिजाइन रचिएको भन्दै पदबाट कुनै हालतमा नहट्ने अडान राखेका छन् । उनले नियमित झैं सर्वोच्चमा जाने पनि बताए ।‘म किन हट्ने ? हट्ने कुरै छैन । म सर्वोच्च जान्छु । पेसी अरूले तोक्ने भन्ने कुरा कसरी आयो ?’ पराजुलीले भने, ‘सचिवको षड्यन्त्रपूर्वक लेखिएको पत्रका कारण पनि बिदामा बस्ने कुरा रहेन । म डटेर अन्तिमसम्मै सर्वोच्चमा रहन्छु ।’बुधबार पनि सर्वोच्च अदालतका आठ न्यायाधीशले इजलासमा बस्न अस्वीकार गरेका छन् । न्यायाधीशहरू दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतले मुद्दा हेर्न अस्वीकार गरेका हुन् ।इजलासमा बस्न अस्वीकार गर्ने केही न्यायाधीशले बिदाका लागि प्रधानन्यायाधीश पराजुलीसमक्ष निवेदनसमेत दिएको समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया