कर्णालीमा चार हजार संक्रमित, तीन हजार संक्रमणमुक्त

कर्णाली । दिनहुँ कोरोना संक्रमित बढ्ने क्रमसँगै आज पनि कर्णालीमा ६१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि आज २० जना मात्र कोरोना संक्रमणमुक्त भएका छन् ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

“६१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको संख्या तीन हजार ८४१ पुगेको छ”, कँडेलले भने, “तीन हजार ११० व्यक्ति भने संक्रमणमुक्त भएका छन् ।” संक्रमितमा सुर्खेतका ५२, दैलेखका छ तथा कालीकोट, जाजरकोट र रुकुम (पश्चिम)का एकएक व्यक्ति रहेको उनले बताए ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना संक्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८, एनसिसी बैंकका चार, विद्यार्थी दुई तथा आँखा अस्पताल, नेपाल टेलिकम, व्यापार र मजदूरी क्षेत्रका एकएक व्यक्ति छन् । दैलेखमा भने तीन नागरिकमा संक्रमण देखिएको उनले जनाए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?