कास्की । पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले शहीद, घाइते तथा बेपत्ता योद्धाहरुको परिवारको व्यवस्थापनका लागि पार्टीभित्र छुट्टै विभाग आवश्यक रहेको बताएका छन् ।
जनपत्रकार शहीद महेश पहारीको १६ औँ स्मृति दिवसका अवसरमा आज पोखरामा आयोजित स्मृतिसभामा उनले विगतका जनयुद्ध, जनआन्दोलन तथा परिर्वतनका लागि भएका सङ्घर्षका शहीद, बेपत्ता तथा घाइतेका परिवारजनप्रति पार्टीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
नेता अधिकारीले भने,“शहीदले हामीलाई पीडालाई बिर्साउँदै निरन्तर क्रियाशील रहेर जनताको सेवामा लाग्न प्रेरित गरिरहेका छन् । शहीदको स्मरण र उनीहरुका परिवारजन तथा सन्ततिको उचित हेरचाह र व्यवस्थापनका लागि पार्टीभित्र छुट्टै विभागको खाँचो देखिएको छ ।”
पार्टीका प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले उत्पीडित जनताको पक्षमा शहीद पहारीले निरन्तर कलम चलाएको स्मरण गर्दै शहीदका परिवारलाई सुविधा, सन्ततिलाई शिक्षा दिक्षालगायतमा जनप्रतिनिधिहरुले विशेष ध्यान दिनुपर्ने बताए । “देशले अहिले हासिल गरेका गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीजस्ता उपलब्धिहरु जनयुद्ध तथा जनआन्दोलनका शहीदका कारणबाट नै सम्भव भएको छ ।”
नेकपा पोखरा महानगरपालिका वडा कमिटी १० ले आयोजना गरेको स्मृतिसभामा नेकपाका प्रदेश तथा जिल्लास्तरीय नेता कार्यकर्ता, जनप्रतिनिधिले शहीद पहारीको तस्वीरमा माल्यार्पण गरेका थिए ।
पोखराबाट प्रकाशित हुने तत्कालीन स्वाभिमान साप्ताहिकमा आवद्ध पहारीलाई माओवादीको अभियोगमा विसं २०६० मा सुरक्षाकर्मीले कास्कीको ल्वाङघलेलबाट गिरफ्तार गरी कारागार चलान गरेकामा उनको २०६२ असोज १८ गते निधन भएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया