वैदेशिक रोजगारीमा ठगी गर्ने कारागार चलान

काठमााडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न व्यक्तिलाई लाखौँ ठगी गर्ने एक जना आज कारागार चलान भएका छन् । वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको आरोप पुष्टि भएर पनि दुई वर्षदेखि फरार हुँदै आएका सिन्धुपाल्चोक घर भई भक्तपुर च्यामासिंह बस्ने ३७ वर्षीय सुदीप भनिने तुलबहादुर तामाङलाई काठमाडौँ जिल्ला अदालतले आज कारागार चलान गरेको हो ।

विसं २०७४ भदौ ११ गते वैदेशिक रोजगार न्यायाधिकरणले ठगी गरेको प्रमाणित गरी उनलाई एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवानाको आदेश दिएको थियो । त्यसपछि उनी फरार थिए । उनलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले शुक्रबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको र आज फैसला कार्यान्वयनका लागि काठमाडौंमा जिल्ला अदालतमा पेश गरेको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए। शनिवार बिदा परेकाले उनलाई आज अदालतमा पेश गरिएकामा अदालतले कारागार चलान गरेको बताइएको छ । सोही घटनामा संलग्न अर्का एक जनालाई पनि आज साँझ पक्राउ गरिएको छ । उनलाई सोमवार अदालतमा पेश गरिने महाशाखाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?