जनताको पक्षमा काम गर्न मुख्यमन्त्रीको निर्देशन

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिहरुलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन् । आज बेँसीशहरमा नेकपा लमजुङले आयोजना गरेको सो पार्टीबाट निर्वाचित स्थानीय पालिकाका जनप्रतिनिधि र जिल्ला कार्यालयका सदस्यहरुबीच संयुक्त छलफल कार्यक्रममा मुख्यमन्त्री गुरुङले बाढीपहिरो, कोभिड­१९ लगायतका समस्यामा परेका जनताको आवश्यकताअनुसार काम गर्न निर्देशन दिएका हुन् ।

उनले तीन तहको सरकारमध्ये स्थानीय सरकार जतनासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरुको मर्म बुझेर काम गर्दै तीनै तहको सरकारको प्रत्याभूति गराउनुपर्ने खाँचो औँल्याए । मुख्यमन्त्री गुरुङले पार्टी र सरकारबीचको समन्वय राम्रो राख्न तथा पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले भने, “प्रदेशलाई उज्यालो बनाउनेदेखि एक घर एक धारा, सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रदेश सरकार अघि बढिरहेको छ ।”

कार्यक्रममा नेकपा प्रदेश कमिटीका मुख्य सचेतक तथा केन्द्रीय सदस्य मायानाथ अधिकारीले जनता विपद्मा परेको बेला उद्धार र राहतमा एकजुट हुन सबैलाई आग्रह गरे । उनले पार्टीका कार्यकता तथा जनप्रतिनिधिलाई सरकार सफल बनाउन इमान्दारीका साथ काम गर्दै जनताको मन जित्नुपर्ने धारणा राखे।

भ्यू टावर तथा शान्तिस्तुपाको शिलान्यास

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सरकार ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुको संरक्षण र प्रवद्र्धनमा जुटेको बताए। आज बेँसीशहर नगरपालिका–४ पुरानोकोटमा पुरानोकोटगढी दृश्यावलोकन स्तम्भ (भ्यू टावर) तथा शान्तिस्तुपाको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभित्र यस्ता ऐतिहासिक, धामिक, पर्यटकीय स्थलहरु प्रसस्तै रहेको र यसबाट प्रदेशको विकासमा समेत टेवा पुग्ने भएकाले प्रदेश सरकारको ध्यान केन्द्रित भइरहेको बताए ।

उनले भने, “प्रदेश सरकारले थुप्रै विकासका कामहरु अघि बढाएपनि निर्माणधीन चरणमा रहेकाले यस आर्थिक वर्षभित्र अधिकांश निर्माणधीन कामहरु सम्पन्न भएपश्चात् विकासको अनुभुति हुनेछ । पाँच वर्षभित्र प्रदेशको सबै पालिकासम्म सात मिटर चौडाइका पक्की सडक पुग्नेछ ।”

सो अवसरमा नगरप्रमुख गुमानसिंह अर्यालले सो भ्यूटावर तथा शान्तिस्तुपा निर्माणले यस क्षेत्रमा पर्यटन विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । करिब १० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको सो भ्यूटावर तथा शान्तिस्तुपा निर्माण गर्न चार करोड ८१ लाख ८१ हजार १०१ लाग्ने नगरपालिकाले जनाएको छ । रासस
­­­

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?