महोत्तरी । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको संसदीय उपसमितिले महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय भएको जनाएको छ । मुलुकभरि कोभिड–१९ को अवस्था अनुगमन, निरीक्षणका लागि गठित उपसमितिले आज कारागारको निरीक्षणपछि सञ्चारकर्मीसँग यस्तो जनाएको हो ।
उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठ, सदस्यहरु सांसद नमिता चौधरी, इकवाल मियाँ र संसद सचिवालयका अधिकृत अमित यादवसहितको टोलीले आज कारागार निरीक्षण गरेको हो । “कारागारका कैदी/थुनुवाको बसाई अत्यन्त कारुणिक भेटियो” उपसमितिका संयोजक सांसद श्रेष्ठले सञ्चारकर्मीसँग भने, “जम्मा १३५ कैदी/थुनुवा राख्ने क्षमताको कारागारमा चौबर बढी राखिएका रहेछन् ।” कारागारमा अहिले रहेको भौतिक सुविधाका दृष्टिले दैनिक नित्यक्रियाका लागि पनि कैद/ थुनुवाले कठिनाइ भोग्नुपरेको पाइएको सांसद श्रेष्ठको भनाइ छ ।
विसं १९१३ सालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गरेको यो कारागार भवन अहिले जताततै उप्किएर भित्र बस्न डरलाग्दो भएको कैदी/थुनुवाले गुनासो गरेका थिए । महिला र पुरुषका लागि दुई छुट्टाछुट्टै कक्ष रहेको कारागारमा हाल चार आश्रित बालबालिकासहित ५५५ जना कैदी/ थुनुवा रहेका कारागार प्रशासनले जनाएको छ । यसमा आश्रित चार बालबालिकासहित महिला कक्षमा ४८ जना र पुरुष कक्षमा ५०७ जना रहेका कारागार प्रमुख (जेलर) सञ्जिवकुमार साहले बताए ।
कारागारमा दम र छालाजन्य समस्याका दीर्घरोगी ५० भन्दा बढी रहेको बताइएको छ । पुरुष कक्षमा ठाउँ खचाखच हुँदा राम्ररी सुत्न नपाएका कैदी/थुनुवाको गुनासो रहेको निरीक्षण टोलीका सदस्य सांसद चौधरी बताउँछन् । उपसमितिका सदस्य अर्का सांसद मियाँले कारागारमा देखिएको अस्तब्यस्त अवस्था सुधार्न तत्काल यहाँका कैद/ थुनुवालाई अन्यत्र स्थानान्तरण गर्न जरुरी रहेको सुझाव दिएका छन् ।
कारागारमा अदालती फैसलापछि सजाय काटी रहेका कैदीभन्दा पूर्पक्ष थुनाका लागि न्यायिक निकायले पठाएका निकै बढी छन् । यस्ता थुनुवाको सङ्ख्या ७० प्रतिशतको हाराहारी रहेको जेलर साह बताउँछन् ।
न्यायिक निकायले मुद्दा फैसलामा ढिलाइ गरेसँगै कारागारमा थुनुवाको चाप बढेको कारागार प्रशासनले जनाएको छ । धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँका थुनुवा पनि यहीँ राखिएकाले चाप अत्यधिक रहेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया