ओली र प्रचण्डबीच डेढ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (आइतबार) केहिबेरअघि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

पूर्वनिर्धारित सचिवालय बैठक स्थगित गरेका दुई अध्यक्षले आज भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकता र कोरोना महामारीमा कसरी अगाडि बढ्ने,प्रदेश ५ को राजधानी दाङको भालुवाङ तोक्ने निर्णयपछि वुटवलमा आन्दोलन चर्किएपछि कर्फ्यू लगाईएको भन्ने विषयमा छलफल गरेका थिए ।

ओलीले पार्टीभित्र छलफल नै नगरी एकलौटी रुपमा र स्थायी कमिटी बैठकको निर्णयलाई कुल्चेर मुख्यसचिव र राजदूत सिफारिसको निर्णय गरेसँगै सत्तारुढ दल नेकपाको विवाद फेरि सतहमा आएको छ ।

ओलीको यो प्रवृतिबाट चिढिएका प्रचण्ड र सचिवालयका शीर्ष नेताले सचिवालय बैठकमा यो असन्तुष्टी राख्नसक्ने भएकोले पनि थामथुम पारिएको नेकपा विवाद फेरि चर्कियोस् भन्ने ओली चाहँदैनन् । यहि मनसायले उनले विभिन्न वहानामा बैठक टारिरहेका छन् ।

तर त आज निर्धारण गरिएको बैठक प्रधानमन्त्रीको निजी सचिवालयका पाँच जनामा संक्रमण पुष्टि भएपछि अनिश्चित बनेको हो ।

हिजो शनिबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईं, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई, स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा कोरोना पुुष्टि भएको छ।

प्रधानमन्त्रीको रिपोर्ट भने नेगेटिभ आएको छ। तर उनले केहि समय भेटघाट नगर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?