काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ७८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । यो संख्या कोरोनाको उद्गम मुलुक चीनको भन्दा धेरै हो । नेपालमा संक्रमितको संख्या बढ्दै जाँदा जोखिम पनि उत्तिकै बढीरहेको छ । चीनमा अहिलेसम्म ८५ हजार ४५० रहेको छ भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।
प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला
- काठमाडौं
- ललितपुर
- भक्तपुर
- चितवन
- मोरङ
- रुपन्देही
- सिराहा
नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २२ हजार २१९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ८९३ जना र संस्थागत आईसोलेसनमा १० हजार ३२६ जना छन् । तिमध्ये २२६ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २०३ जना रहेका छन् । डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५३५ जनाको मृत्यु भएको छ ।
हिजो (शनिवार) नेपालमा २ हजार १२० जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ४४ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया