नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६४ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६४ हजार ६९ जना रहेका छन् । कुल संक्रमित मध्ये ७३.७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ७८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

यो संख्या कोरोनाको उद्गम मुलुक चीनको भन्दा धेरै हो । नेपालमा संक्रमितको संख्या बढ्दै जाँदा जोखिम पनि उत्तिकै बढीरहेको छ । चीनमा अहिलेसम्म ८५ हजार ४५० रहेको छ भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २२ हजार २१९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ८९३ जना र संस्थागत आईसोलेसनमा १० हजार ३२६ जना छन् । तिमध्ये २२६ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २०३ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५३५ जनाको मृत्यु भएको छ ।

हिजो (शनिवार) नेपालमा २ हजार १२० जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ४४ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?