आफ्नै बुहारीलाई फेसबुकमा गाली गर्ने पूर्व डिएसपीलाई यस्तो सजाय

काठमाडौं । आफ्नै बुहारीलाई सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) कृष्णबहादुर खड्का पक्राउ परेका छन् ।

पक्राउ परेका पूर्व डिएसपी खड्कालाई काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐन अन्तर्गत ५० हजार जरीवाना र २५ हजार क्षतिपूर्तीको फैसला सुनाएको छ।

न्यायधीश रामप्रसाद न्यौपानेको एकल इजलासले यस्तो फैसला सुनाएको हो।

पूर्व महानगरीय अपराध महाशाखाको टोलीले पूर्व डिएसपी खड्काले आफ्नै बुहारीलाई फेसबुकमार्फत गालीगलौज गरेको आरोपमा नियन्त्रणमा गत २०७५ असोजमा लिएको थियो ।

उनकी बुहारी सुमना खड्काले साइबर अपराध भएको भन्दै उजुरी आफ्नै ससुराविरुद्ध प्रहरीकोमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा उनलाई पक्राउ १५ दिनसम्म नियन्त्रणमा राखी अनुसन्धान गरी जिल्ला अदालतले तोकेको १ लाख धरौटी बुझाएर उनी रिहा भएका थिए ।

‘प्रतिवादीको उमेर अवस्था, कसुर गर्दाको परिस्थिति समेतलाई हेर्दा प्रस्तुत मुद्दाका प्रतिवादीलाई न्यूनतम सजाय गर्दा पनि कानूनको मकसद पुरा हुने देखिँदा प्रतिवादी कृष्णकुमार खड्का क्षेत्रीलाई विद्युतीय (इलेकट्रोनिक्स) कारोबार ऐन, २०६३ को दफा ४७(१) विपरीतको कसुरमा सोही ऐनको दफा ४७ (१) बमोजिम ५०,००० (पचास हजार) जरिवाना हुने ठहर्छ। साथै जाहेरवाला पीडितलाई पुग्न गएको मानसिक पीडासमेत बापत प्रतिवादी कृष्णकुमार खड्का क्षेत्रीबाट जाहेरवाला पीडित मधु शाह भन्ने सुमना खड्कालाई २५,००० (पच्चीस हजार) क्षतिपूर्ति भराई दिने ठहर्नुका साथै दसीको रूपमा बरामद मोबाइल फोन थान १ जफत हुने ठहर्छ।’ अदालतको फैसलामा भनिएको छ ।

उनीहरुको घरायसी अंशबण्डा लगायतको विषयलाई लिएर उनीहरुबीच खटपट भएको र खडकाले आफ्नी बुहारीलाई फेसबुक म्यासेन्जरमा गाली गलौज गरेको बुझिएको छ । पछिल्लो समय साइवर अपराधका मुद्धाहरु बढिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?