काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेल समूहले राख्दै आएका मागहरुबारे पार्टीभित्र छलफल बढाएका छन् ।
पौडेल समूहले सभापति देउवासमक्ष राखेको विभिन्न मागहरु सम्बोधनका लागि दिएको एकहप्ते अल्टिमेटमको समयावधि सकिन लाग्दै गर्दा सभापति देउवाले नेताहरुसँग छलफल बढाएका हुन् ।
शनिवारदेखि सभापति देउवाले आफू निकट नेता, पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग परामर्श शुरु गरेको कांग्रेस एक नेताले लोकपथलाई जानकारी दिए ।
आइतवार बिहानको लागि पौडेल पक्षले राख्दै आएको मागबारे छलफलका लागि पदाधिकारी बैठक बोलाइएको थियो । तर पार्टीका ४ केन्द्रीयसदस्यसहित केही व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै आजका लागि बोलाइएको पदाधिकारी, भोलीका लागि बोलाइएको केन्द्रीय समिति बैठक समेत स्थगित गरिएको छ ।
सभापति देउवाले पार्टीभित्र एकलौटी रुपमा निर्णयहरु गरेको साथै विधान विपरित विभागहरुमा गठन गरेको प्रति आपत्ती जनाउँदै सच्चिनको लागि आग्रह गर्दै असोज १२ गते विरोधपत्र समेत बुझाएका थिए ।
सभापति देउवाले विभाग गठन लगायतका कामहरुलाई नरोके आन्दोलनमा जाने समेत चेतावनी दिएको पौडेल समूहले भर्चुअल्ली दवाव दिइरहेका थिए ।
कांग्रेस महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्य बाड्ने तथा विभागमा मनोनयका काममा तीव्रता दिएकोप्रति पौडेल पक्षको आपत्ती जनाउँदै आएको छ । तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने मागहरुसहित पौडेल पक्षले सभापति देउवासमक्ष विभिन्न मागहरु राख्दै आएको छ । क्रियाशील सदस्यता वितरणको काम सकिन लागेपनि कोरोना महामारीका कारण महाधिवेशन भने अन्योलमा पर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया