विदेशमा रहेका नेपालीमा कोरोना : ३९ हजार पाँच सय २८ जना संक्रमित

काठमाडौं – महामारीको रुपमा गत अंग्रेजी वर्षको अन्तिम महिना चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ बाट विदेशमा रहेका ३९ हजार पाँच सय २८ नेपाली संक्रमित भएका छन् ।

नेपालबाहेक विदेशमा रहेका मात्रै ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोना संक्रमण मुक्त (९२ प्रतिशत) भएका छन् भने २६६ जनाको मृत्यु भएको छ । यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २६६ पुगेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित छन् ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरस ‘कोभिड १’९ बाट संक्रमित भएका छन् । संक्रमितमध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको (७४.२) प्रतिशत हो । हालसम्म नेपालमा ५२८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ जना कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्वजनिक स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाउँदै स्वास्थ्यसम्बन्धी मापदण्ड कडाईका साथ पालना गर्नुको विकल्प नभएको हुँदा सबैलाई स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?