प्रधानमन्त्रीले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने, सचिवालय बैठक के हुन्छ ?

काठमाडौं – प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने भएका छन्।

आफ्ना सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका अन्य भेटघाट नगर्ने भएका हुन्।

प्रधानमन्त्रीले प्रत्यक्ष भेट्नै पर्ने भएमा मात्रै भेटघाट गर्ने र भर्चुअल माध्यमबाट गर्न सकिने काम गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताएका छन् ।

यसैबीच प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीदेखि सल्लाहकार, स्वकीय सचिव, सचिवालयका ७० बढीलाई कोरोना संक्रमण पुष्टि भएपछि आजका लागि बोलाईएको सचिवालय बैठक बस्ने /नबस्ने भन्नेमा अन्यौल बढेको छ ।

हिजो (शनिबार)का लागि बोलाईएको सचिवालय बैठक स्थगित गरी आजका लागि बोलाईएको थियो ।

शनिबार ४ बजेका लागि बोलाइएको बैठक स्थगित गरी आज आइतबार ४ बजेका लागि डाकिएको थियो। तर आजको बैठक के हुन्छ ? भन्नेबारेमा अहिलेसम्म निर्णय नभइसकेको सचिवालयका एक सदस्यले लोकपथलाई बताए ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच गत शुक्रबार भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।

पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद बढीरहेको सन्दर्भमा सचिवालय बैठक बोलाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?