कोरोना संक्रमित ट्रम्पलाई उत्तर कोरियाली तानाशाह किम जोङले पठाए सन्देश, विश्वभरबाट स्वास्थ्य लाभको कामना

वासिङ्टन । कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिश्पर्द्धी जोए बाइडेनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत संक्रमित भएकोमा दुबै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

अहिले ७४ बर्ष पुगेका राष्ट्रपति ट्रम्प र ५० बर्षिया उनकी पत्नी मेलानिया शुक्रवार कोरोना भाइरसबाट संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “ट्रम्प दम्पत्तिको शीघ्र स्वास्थ्य लाभका लागि हामीले निरन्तर प्रार्थना गरिरहने छौँ ।”

त्यसैगरी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प दम्पत्तिसँगै कोरोना भाइरसबाट संक्रमित सवैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अमेरिकामा अहिले ७३ लाख ३२ हजार १९ जना सङ्क्रमित भएका छन् भने दुई लाख आठ हजार ६९३ जनाको मृत्यु भएको छ । यो दुबै तथ्यांक देश अनुसार हेर्दा विश्वभरी कै सवैभन्दा धेरै हो ।

त्यसैगरी पूर्व राष्ट्रपति विल क्लिन्टन, ट्रम्पसँगै राष्ट्रपतिमा यसअघि प्रतिश्पर्धा गरेकी हिलारी क्लिन्टन, अहिले डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी भएकी कमला हारिसलगायतले पनि ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

स्वदेशी नेता बाहेक अन्य देशका पनि दर्जनौ नेताहरुले उनलाई शीघ्र स्वास्थ्य लाभको सन्देश पठाएका छन् ।उनीहरु मध्ये उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले शनिवार पढाएको सन्देशलाई महत्वका साथ हेरिएको छ ।

“उहाँहरुलाई जतिसक्दो चाडो स्वास्थ्य लाभ हुनेछ भन्ने मैले विश्वास लिएको छु,” किमले सम्प्रेषण गरेको सन्देशमा उल्लेख गरिएको छ ।

लामो समयदेखि एक अर्कालाई मुख्य दुश्मन मान्दै आएका अमेरिका र उत्तर कोरियाका शीर्ष नेताद्धय ट्रम्प र किमबीच पटक पटक शिखर वार्ता भएका थिए ।

त्यसैले पनि उनीहरुले एक अर्काप्रति विषेश निकटता प्रदर्शन गर्ने गरेका छन् । यस अघि किम अस्वस्थ भएको खबर सार्वजनिक भएको बेला पनि ट्रम्पले तत्कालै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

राष्ट्रपति ट्रम्प दम्पत्तिलाई शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनीलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई शुक्रवार राती वाल्टर रिड नेस्नल सैनिक अस्पताल लगिएको हो । उनी बिहीवार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि संक्रमित भएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?