अब हाम्रो पात्रोमा आफूलाई मनपर्ने समाचार स्रोत रोजेर पढ्न सकिने, यसरी गर्नुहोस् प्रयोग

काठमाण्डौ । ‘हाम्रो पात्रो’ एपको न्युज पर्सनलाइजेसन (अर्थात् आफूलाई मनपरेका विश्वस्नीय समाचार स्रोतहरुलाई रोजेर समाचार पढ्न मिल्ने सुविधा) फिचर बेटा भर्सनमा उपलब्ध भएको छ । कम्पनीले बिहीबार एन्ड्रोइड प्रयोगकर्ताका लागि यसको बेटा भर्सन सार्वजनिक गरेको हो ।

अबको केही दिनमा आइफोन प्रयोगकर्ताहरुका लागि समेत यो सुविधा समेटिएको बेटा भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रुची तथा आवश्यकता अनुरुपका समाचारहरु तयार पर्सनलाइज गर्न सक्ने गरी यो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।

एपको समाचार खण्डमा ‘For You’ अर्थात ‘तपाईंको लागि’ फिचर प्रयोग गरी प्रयोगकर्ताले समाचार स्रोत र समाचारको क्याटेगरी (वर्ग) रोज्न सक्नेछन्।

‘हाम्रो पात्रो’ले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो । हाल यो फिचर हाम्रो पात्रो एपमा सर्वाधिक रुचाइएको फिचर बनेको छ । एपमा ६० भन्दा बढी न्युज पोर्टलहरु सूचीबद्ध रहेका छन् । समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहजस्तै समाचार फेला पार्न कठिनाई हुनसक्ने भएकोले प्रयोगकर्ताको मागअनुरुप यस किसिमको अहसहजतालाई अन्त्य गर्न हाम्रो पात्रोले यो फिचर ल्याएको हो ।

हाल सीमित प्रयोगकर्तामाझ परीक्षणको क्रममा रहेको यो फिचर अर्को सातासम्म पब्लिक भर्सनको रुपमा सबैका लागि उपलब्ध हुने हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?