सरकार अभिभावक बन्नेछ : मन्त्री अर्याल

वालिङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई अभिभावकविहीन भएको महसुश हुन नदिने बताएकी छन् । स्याङ्जाको वालिङ­१४ तमादीमा आज आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री अर्यालले पहिराले पुरिएर नौ जनाको ज्यान गएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई कहिल्यै पनि अभिभावकको कमी भएको महसुश हुन नदिने बताएकी हुन्।

मन्त्री अर्यालले भनिन्, “परिवार गुमाउनुको पीडालाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ । भोलि रुने दिन आउन दिंदैनौँ सरकार यहाँहरुको साथमा छ ।” पहिला घर भएको ठाउँमा अब बस्न नहुने भएकाले घर बनाउनका लागि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताइन् । असोज ८ गते बिहान माया नेपालीको घर माथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरसमेत भत्किएपछि बाँकी बचेका परिवारका सदस्यले विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?