वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

दमौली । विश्वविजेता अंग्रेजलाई एशियामा पहिलोपल्ट हराउने सेनानायक सरदार वंशु गुरुङलाई तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरमा सम्झना गरिएको छ । विसं १८२४ कात्तिक २४ गते सिन्धुलीको पौवागढीमा भएको युद्धमा अङ्ग्रेज फौजका कप्तान किनलोकको नेतृत्वको फौजलाई हराएर उनले देशको अस्तित्व जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

वंशु गुरुङ स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा गुरुङको योगदानको चर्चा गर्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । नगरपालिकाका प्रमुख किसान गुरुङले वंशु गुरुङलगायत सपूतहरुले सिन्धुलीगढीको युद्धमा विजय हासिल गरी गौरव बढाएकाले उनलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने बताए ।

शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङले वंशु गुरुङको शालिक आफ्नो वडामा बन्नुले गौरव बढाएको छ भने । उनको स्मृतिमा प्रतिष्ठानले नगरपालिकाको जसपुरमा अर्धकदको शालिक निर्माण गरेको छ । प्रतिष्ठानका अध्यक्ष लालजङ थापाका अनुसार शालिक निर्माणमा दुई लाख ५० हजार खर्च भएको छ । शालिकको गत वर्ष गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?