कोरोनाबाट २७ र ३२ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ र ३२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मोरङका एक २७ वर्षीय पुरुष र ललितपुरका एक ३२ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा मृत्यु भएका ११ जना मध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेहरुमा मोरङका २७ वर्षीय पुरुषललितपुरका ३२ र ७० वर्षीय पुरुष, मकवानपुरका ७८ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुष, बाँकेका ५२ र ५९ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै मृत्यु भएका महिलाहरुमा भक्तपुरकी ५१ र ६१ वर्षीया महिला, काठमाडौं ६७ वर्षीया महिला र सुर्खेतकी ७५ वर्षीया महिला रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ७३९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनासहित देशभर
२ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ३ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । यो कुल संक्रमितको ७३.६ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २१ हजार २३४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ७६० जना र संस्थागत आईसोलेसनमा ९ हजार ४७४ जना छन् । तिमध्ये २५० जना संक्रमितको आईसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८८५ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५२० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ११ जनाले ज्यान गुमाएका छन् ।

हिजो (बिहीवार) नेपालमा १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको थियो । ९६१ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?