नेकपाले शनिवारका लागि डाक्यो सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिवारका लागि सचिवालय बैठक बोलाएको छ ।

आज बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बैठकले भोलीका लागि सचिवालय बैठक बोलाउने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली अपरान्ह ४ बजेका लागि सचिवालय बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले राजदूतलगायतका नियुक्तिबारे पार्टीमा सल्लाह नगरी निर्णय लिएको भन्दै नेकपा शीर्ष नेताहरूबीच फेरि विवाद सिर्जना हुने अवस्था आएपछि सचिवालय बैठक बस्न लागेको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि नेपाली राजदूतमा आफ्ना आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडा र बेलायतको राजदूतमा मुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको थियो । पार्टीभित्र कुनै छलफल नै नगरी उक्त निर्णय गरेको भन्दै अध्यक्ष दाहाल लगायतले शीर्ष नेताहरुले असन्तुष्टि जनाएका थिए ।

ओलीले एकतर्फी रूपमा राजदूत सिफारिस गरेको र एउटै व्यक्तिले पटकपटक राजनीतिक नियुक्त पाइरहेको भन्दै नेकपाका सचिवालय सदस्यहरूले नै असन्तुष्टि भएपछि सचिवालय बैठक डाकिएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?