काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरुको एउटै पार्टी बनाउनुपर्ने भन्दै जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादी का महासचिव मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र चन्द ‘विप्लव’लाई नेकपामा आउन गरेको आग्रहलाई जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले कडा व्यङ्ग्य गरेका छन् ।
उनले प्रचण्डको आग्रहलाई चोटीलो व्यङ्गय गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् : “आफू त महादेव उत्तानो टाँग, कसले देला वर ।”
हिजो (बिहिवार) विभिन्न समूहबाट नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले भने, ‘आज केही महत्वपूर्ण कमरेडहरु जोडिन आइपुग्नु भएको छ। कम्युनिष्ट आन्दोलनका इतिहासमा राम्रो अनुभव हासिल गरेका कमरेडहरु। उहाँहरु ५ ७ जना जोडिनु भयो, उहाँहरुको पछाडी एउटा जनमत नै छ’, ‘म यहीँ मञ्चबाट बाँकी रहेका कमरेडहरु किरणजीले नेतृत्व गरेको या बाबुराम जीले नेतृत्व गरेको या विप्लवहरु पनि मूलधारतिरै फर्किनुपर्नेतिर सबैले सोच्नु, देश, कम्युनिस्ट आन्दोलनको हितमा, सर्वहारा जनताको हितमा हुन्छ।’
एकताको केहि वर्षमा नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा चरम असन्तुष्टि विवाद शुरु भएको छ । दुई अध्यक्षबीच छलफल नै नभई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले निर्णय गर्ने गरेका कारण बिमेलताको स्थिती सिर्जना भएको छ । यस्तो अवस्थामा प्रचण्डले गरेको अनुरोधलाई बाबुरामले उखानमार्फत् प्रचण्डमाथि प्रहार गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया