रोकियो सामाजिक सुरक्षा भत्ता

अति अशक्त अपाङ्गता भएका करिब ९० हजार व्यक्तिका साथै ६० वर्षभन्दा कम उमेर समूहका छ लाख एकल महिला सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले असोज ४ गते ६० वर्ष उमेर नपुगेका एकल महिला र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता बन्द भएको परिपत्र स्थानीय तहलाई पठाएपछि उनीहरूले प्राप्त गर्दै आएको भत्ता रोकिने निश्चित भएको हो ।

सरोकारवाला संस्था, अधिकारकर्मीले कोरोना भाइरस महामारीमा अन्य व्यक्तिको समेत रोजगारी गुमेर जीवन निर्वाहका लागि समस्या परिरहेको बेला सरकारले प्रदान गर्दै आएको न्यूनतम सामाजिक सुरक्षा भत्ता पनि कटौतीमा परेपछि उनीहरू समस्यामा परेको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका महिला उपाध्यक्ष रमा ढकालले जानकारी दिइन् ।

सामाजिक सुरक्षा ऐन, २०७६ मा यसअघि प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ताको सूचीमा अति अशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्षभन्दा कम उमेरका एकल महिलालाई छुटाएपछि उनीहरूको भत्ता रोक्न विभागले दोस्रो पटक स्थानीय तहलाई परिपत्र गरेको हो ।
यसअघि गत चैतमा उक्त भत्ता रोक्न विभागले स्थानीय तहलाई परिपत्र गरेको थियो । त्यसको राष्ट्रिय अपाङ्ग महासङ्घलगायत एकल महिला मानवअधिकार समूहसहित सरोकारवालाले चर्को विरोध जनाएका थिए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?