कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा प्रभावित

धरान । धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुन थाले पछि सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ । उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको केही दिनका लागि सेवा बन्द गरिएको छ वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए।

सूचना शाखाका एक , घर नक्सा शाखाका दुई र अनुगमन अधिकृत सहित कर्मचारीमा कोेरोना पुष्टि भएको उनले बताए । संक्रमण कै कारण वडा नं १६ पनि तीन दिनदेखि बन्द छ । आजदेखि वडा १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । वडा १२ र ३ का वडा सदस्यलाई पनि सङ्क्रमण भएपछि शुक्रबारदेखि कार्यालय बन्द गर्ने जनाएको छ ।

सुनसरीमा विहीबार ६८ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ११ जना महिलासहित ४४ जना धरानका रहेको प्रदेश स्थित सामाजिक विकासमन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ जनामा कोरोना पुष्टि भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?